Sunday, August 26, 2018

भुजुङमा सामूहिक चियाखेती विस्तार

भुजुङमा सामूहिक चियाखेती विस्तार

भुजुङमा चियाखेती १० रोपनीबाट फैलिएर २५० रोपनी जग्गामा
बडाले व्यवस्थापन गरेको सार्वजनिक स्थानमा खेती गरिँदै

भुजुङ (लमजुङ) — डेढ दसकअघि इलामबाट बेर्ना ल्याएर क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका स्थानीयले १० रोपनी जग्गामा चियाखेती थालेका थिए । खेती बिस्तार हुँदा हाल २ सय ५० रोपनीमा फैलिएको छ ।



लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका स्थानीय चियाका बेर्ना बोकेर चिया रोप्न जाँदै । तस्बिर : आश । कान्तिपुर

बर्सेनि चियाखेतीको विस्तारसँगै फाइदा पनि हुन थालेको छ । त्रिभुवन विद्याश्रम मावि नजिकै खेती गरिरहेकोमा यसपटक गाउँ नजिकैको खाली जग्गामा थप खेती विस्तार गरेका हुन् ।
उनीहरूले ठूला रूख नभएको ठाउँका झाडी फाँडेर साढे ११ रोपनीमा चियाका ८ हजार नयाँ बिरुवा लगाएका छन् । गाउँका सामुदायिक रूपमा चियाखेती थालिएको हो । यसको व्यवस्थापन वडाले गर्छ ।

सामुदायिक रूपमै चियाका बेर्ना सारेको वडासदस्य पित्रमान गुरुङले बताए । उनका अनुसार यसपटक नयाँ बेर्ना सार्ने एक चरणको काम शुक्रबार चियाका बेर्ना सारेर सकिएको छ । संघीय संरचनाअघि एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङका करिब चार सय घरपरिवारले चियाखेती गरेका हुन् ।
स्थानीयका अनुसार सामुदायिक रूपमा लगाइएको चियामा हरेकको हक लाग्छ । व्यक्तिगत रूपमा पनि करिब १५ रोपनी क्षेत्रफलमा चियाखेती गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन् । यो वर्ष रोपिएका सबै चियाका ८ हजार बिरुवा नि:शुल्क दिइएको एक्यापका संरक्षण अधिकृत राजेशप्रसाद गुप्ताले बताए ।

चियाखेतीले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । तीन वर्षसम्मको परीक्षण सफल भएपछि भुजुङका बासिन्दाले ०५९ देखि थप चियाखेती थालेका हुन् । भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिएको छ ।

समुन्द्र सतहदेखि झन्डै १ हजार ६ सय २० देखि १ हजार ७ सय मिटर उचाइको भूभागमा लगाइएको चिया पुस र माघबाहेक सबै महिना १५/१५ दिनको फरकमा टिप्ने गरिएको छ । हाल रोपिएका बिरुवाबाट मुना टिप्नयोग्य तीन वर्ष लाग्ने प्राविधिक बताउँछन् ।
गाउँमै बनाइएको चिया विदेशमा समेत पठाउने गरिएको होमस्टे सञ्चालक जुनी गुरुङले बताइन् । ‘हामीले खेती गरेको चिया पाहुनालाई खुवाउँछौं,’ उनले भनिन्, ‘कोसेली र बिक्रीका लागि बेलायत, अमेरिका र हङकङ पठाउने गरेका छौं ।’
पोखरा, चितवन, काठमाडौं र बेंसीसहरलगायत सहरबजार बस्दै आएका स्थानीयले गाउँकै चिया प्रयोग गर्छन् । पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले भने, ‘हामीले उत्पादन विस्तार गरेर हामी व्यावसायिक रूपमा अघि बढ्ने सोंचमा छौं ।’ वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार होमस्टेमा आउने पाहुनालाई सबैभन्दा पहिले भुजुङमै उत्पादन गरिएको चिया खुवाउने गरिएको छ ।
गाउँमा आउने पाहुनालाई कोसेलीका रूपमा पठाउने गरिएको छ । ‘चियाखेतीका लागि सबै घरबाट खटिएका छौं,’ उनले भने, ‘हामी आफैं रोप्छौं, गोडमेल गर्छौं । टिप्छौं र चिया बनाउँछौं ।’ चियाखेतीका लागि वडाले व्यवस्थापन गरेको उनले बताए । स्थानीयले यो वर्ष वडाको सिफारिस र गाउँपालिकाको अनुमतिमा सार्वजनिक जग्गामा चियाखेती गरेका हुन् । यसअघि पनि सार्वजनिक जग्गामा चियाखेती गरिएको थियो । ‘हामीले सार्वजनिक जग्गाको सदुपयोग गरेका छौं । यसले स्थानीयको जनजीवनमा परिवर्तन ल्याएको छ,’ वडाध्यक्ष गुरुङले भने ।

बेंसीसहरस्थित भुजुङ बाबा समूहका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङका अनुसार सहरमा गाउँको चियाको माग बढ्दो छ । ‘अन्य गाउँलेले तिम्रो गाउँको चिया छैन भनेर सोध्न आउँदा मनै फुरुंग हुन्छ,’ उनले भने, ‘गाउँबाट मगाएर भए पनि दिने गरेको छु ।’ भुजुङ आउने पर्यटक पनि चिया कोसेली लिएर मात्रै फर्कने गरेको युम्बो विकास आमा समूहकी अध्यक्ष मबिना गुरुङले बताइन् । स्थानीयका अनुसार प्रत्येक जेठ र असोजमा चिया बगानको गोडमेल गरिएको छ । पछिल्लो समययता चिया बगान विद्यार्थीहरूको शैक्षिक भ्रमणको गन्तव्य समेत बन्दै गएको छ ।
प्रकाशित : श्रावण २०, २०७५, आश गुरुङ

No comments:

Post a Comment