Wednesday, August 29, 2018

सार्ककै नमुना गाऊँ लमजुङ्को घले गाउँ अब "स्मार्ट भिलेज" बन्ने ॥



सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउने अभियानमा स्थानीय जुटेका छन् । घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तिव्रता लिएसँगै आइतबारदेखि औपचारिक कार्यक्रम गरी सुरुवात गरिएको छ ।




स्मार्ट भिलेज बनाउने अभियान अन्तर्गत आइतबार समुदाय वरपर सरसफाई गर्नुका साथै सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचारप्रसार गर्नका लागि विभिन्न समिति गठन गरी काम सुरु गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । उनका अनुसार टोल सुधार समिति, संस्कृति समिति, होमस्टे अनुगमन समिती गठन गरिएको छ ।









आइतबार गठन भएको टोल सुधार समितिले प्रत्येक दिन १५ मिनेट सरसफाई अभियान सञ्चालन गर्ने घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष घलेले बताए । उनले भने ‘घलेगाउँको पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितिसँग आवश्यक रकम माग गरिएको छ ।’




गाउँका १ सय २० घरका छाना एउटै कलरको बनाउने र यस क्षेत्रको भौतिक संरचनाको विकासका लागी पहल भईरहेको उनले बताए । २०५७ सालदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रम गरी होमस्टे सञ्चालन थालेको घलेगाउँमा दुई घर दलित समुदायसहित ३२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।




२०७४ सालमा उक्त होमस्टे नेपालकै उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको छ । पर्यटकीय सेवा सुविधा, स्थानीय कला सस्कृतिको प्रर्वद्धन तथा गतिविधी ,होमस्टे कार्यक्रममा समुदायको सक्रियाताका कारण घलेगाउँमा स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्दै आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव उमलबहादुर विकले बताए ।









घलेगाउँमा हिमालको दृश्यावलोकन र सूर्योदय अवलोकन साथै गुरुङ जातिको सङ्ग्रहालय, गुरुङ संस्कृति घाँटु, कृष्ण चरित्र, झ्याउरे नाच यहाँको विशेषता रहेको विकले बताए । यस्तै गुरुङ घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत यहाँ अवलोकन गर्न पाइन्छ । घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ । सदरमुकाम बेंसीशहरबाट सवारी साधनमा साँढे २ घण्टा र पैदल जान चाहनेका लागि ५ घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो ।


(source: enayapatrika, Shanta Kamali)

No comments:

Post a Comment